लामिछानेको पक्षमा ‘लिगल डिफेन्स फण्ड’ गठन गर्दै रास्वपाले चन्दा संकलन सुरु


लामिछानेको पक्षमा ‘लिगल डिफेन्स फण्ड’ गठन गर्दै रास्वपाले चन्दा संकलन सुरु
  • नवकिरण
  • अषाढ १२, २०८२

काठमाडौं, असार १२ – सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा कानुनी लडाइँ लड्न रास्वपाले चन्दा संकलन सुरु गरेको छ। हस्ताक्षर अभियानका नाममा QR कोडमार्फत देश–विदेशमा आर्थिक सहयोग संकलन भइरहेको छ।

रास्वपाले लामिछानेको अपिलपछि देशभर नागरिकबाट समर्थन जुटाउन हस्ताक्षर अभियान थालेको हो। उक्त अभियानसँगै QR कोड राखेर स्वेच्छिक चन्दा उठाउन थालिएको छ। तर, चन्दा संकलनको पारदर्शिता र उद्देश्यबारे प्रश्न उठिरहेका छन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हस्ताक्षर अभियान सञ्चालन गर्न छुट्टै खाता खोलिएको छ। “रविको मुद्दामा अहिलेसम्म पार्टी र शुभेच्छुकको सहयोगबाट खर्च भइरहेको थियो, अब हस्ताक्षर संकलन अभियानका लागि छुट्टै कोषबाट खर्च हुनेछ,” उनले भने।

पार्टी प्रवक्ता तथा संघीय सांसद मनिष झाले पनि मुद्दा लड्नको लागि आर्थिक भार कम गर्न छुट्टै ‘लिगल डिफेन्स फण्ड’ बनाइएको बताए। उनका अनुसार रास्वपाको मुख्य खाताबाट खर्च गरिरहन गाह्रो परेपछि छुट्टै फण्ड आवश्यक परेको हो।

चन्दा संकलनका लागि ग्लोबल आईएमई बैंकमा उपखाता खोलिएको छ। उक्त खातामा कोषाध्यक्ष निमा अधिकारी र सहकोषाध्यक्ष दीपक बोहोराको हस्ताक्षर चल्ने व्यवस्था गरिएको छ। फण्डको कार्यविधि निर्माणको जिम्मेवारी पनि बोहोरालाई दिइएको छ।

तर, अहिलेसम्म सो खाताको औपचारिक विवरण सार्वजनिक नभएकाले कति रकम संकलन भयो भन्ने विवरण आउन सकेको छैन।

यता, रवि लामिछानेलाई बुटवलस्थित उच्च अदालत तुलसीपुरको आदेशपछि भैरहवा कारागारमा राखिएको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले १ करोड धरौटीमा छाड्न भने पनि उच्च अदालतले सो आदेश बदर गर्दै थुनामा पठाएको हो। उक्त मुद्दामा रविसहित ४२ जना प्रतिवादी छन्।

पार्टी सभापति नै ठगी मुद्दामा थुनामा परेपछि रास्वपा ठूलो कानुनी दबाबमा परेको छ। अब उक्त ‘लिगल डिफेन्स फण्ड’मार्फत लामिछानेको पक्षमा न्यायिक लडाइँ अघि बढाइने पार्टीले स्पष्ट पारेको छ।