एकल आमाका सन्तानलाई आमाको नामबाट नागरिकता दिने विधेयक संसदबाट पारित


एकल आमाका सन्तानलाई आमाको नामबाट नागरिकता दिने विधेयक संसदबाट पारित
  • नवकिरण
  • अषाढ १४, २०८२

काठमाडौँ, असार १४ – प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ । यस विधेयकले एकल आमाका सन्तानलाई आमाको नामबाटै नागरिकता दिने व्यवस्था गर्दै सामाजिक न्याय र लैङ्गिक समानताको दिशामा ऐतिहासिक कदम चालेको सांसदहरूको भनाइ छ ।

विधेयकमा बाबु गुमाएका, गैरजिम्मेवार बाबु भएका सन्तान तथा विदेशमा सन्तान जन्माएका नेपाली महिलाका सन्तानलाई पनि नागरिकता दिने व्यवस्था गरिएको छ । सांसदहरूले यस विधेयकले विगतमा नागरिकता नपाई राज्यका सेवा-सुविधाबाट वञ्चित नेपालीहरूका लागि न्याय दिलाउने ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विधेयकले संविधानको भावना अनुसार कुनै पनि नेपाली नागरिक नागरिकताको अधिकारबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गरेको बताए । उनले भने, “अब एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट नागरिकता पाउँछन्, जुन स्वाभिमान र सहअस्तित्वको प्रतीक हो ।”

यस्तै, नेकपा (एमाले) की सांसद ज्वालाकुमारी शाहले महिलाको हक सुनिश्चित गर्दै विदेशी श्रीमानसँग विवाह गरेकी नेपाली महिलाले आफ्ना सन्तानलाई नागरिकता दिन पाउने अधिकार विधेयकमा समावेश गर्नुपर्ने माग गरिन् । उनले यथोचित प्रमाण र प्रक्रिया आवश्यक हुने स्पष्ट पारेकी छिन् ।

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले तराई-मधेसका नागरिकता नपाएका नागरिकहरूको पीडा अन्त्य गर्न विधेयकले भूमिका खेल्ने बताए । उनले नागरिकता अभावकै कारण आधारभूत अधिकारबाट वञ्चित भइरहेका नागरिकहरू अब सम्मानपूर्वक बाँच्न पाउने विश्वास व्यक्त गरे ।

विधेयकले बाबुको ठेगाना नभएको, बेपत्ता भएको वा नागरिकता दिन असहयोग गर्ने अवस्थाहरूमा पनि आमाको स्थायी बसोबासको प्रमाणका आधारमा जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता दिने व्यवस्था गरेको छ ।

सांसदहरूका अनुसार यो विधेयक लागू भएसँगै हजारौँ नागरिकले पहिलोपटक नागरिकताको प्रमाणपत्र पाउनेछन्, जसले उनीहरूको जीवनको बाटो सहज बनाउनेछ ।