उपभोक्ता ऐन संशोधनको मागमा चिकित्सक आन्दोलित, सेवा बहिष्कारले बिरामी मर्कामा


उपभोक्ता ऐन संशोधनको मागमा चिकित्सक आन्दोलित, सेवा बहिष्कारले बिरामी मर्कामा
  • नवकिरण
  • अषाढ २४, २०८२

काठमाडौं, असार २४ – उपभोक्ता संरक्षण ऐनमा संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले अस्पतालका नियमित सेवा बन्द गर्दा बिरामीहरू गम्भीर समस्यामा परेका छन्।

आकस्मिक र सघन उपचार सेवा (ICU) बाहेकका सबै सेवाबाट चिकित्सकहरू टाढा रहेका कारण अस्पताल पुगेका बिरामीहरू अलपत्र परेका छन्।

सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार पनि जारी रहेको छ। माइतीघर मण्डलामा भेला भएका चिकित्सकहरूले ऐनको दफा २ मा भएको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था अनुचित भएको भन्दै त्यसमा संशोधन गर्न सरकारसँग माग गरिरहेका छन्।

चिकित्सकहरूको भनाइमा, हालको व्यवस्थाका कारण उपभोक्ता अदालतबाट दोषी ठहर गर्दै उच्च जरिवाना तिर्नु परेकाले पेशागत असुरक्षा बढेको छ। त्यसकै विरोधमा आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ।

आन्दोलनको प्रत्यक्ष असर अस्पतालमा देखिएको छ। टाढाबाट उपचारका लागि आएका बिरामीहरू सेवा नपाएर अस्पतालको चौरमै बस्न बाध्य छन्। पहिले नै समय लिएर आएका बिरामी र दीर्घरोगीहरू झन् समस्यामा परेका छन्। कतिपय गम्भीर अवस्थाका बिरामीले समेत सेवा पाउन नसक्दा संकट थपिएको छ।

चिकित्सकहरूले उपभोक्ता संरक्षण ऐन २०७५ मा चिकित्सकीय सेवा र अन्य सेवालाई एउटै श्रेणीमा राखिएकोप्रति असन्तुष्टि जनाउँदै चिकित्सा क्षेत्रलाई विशेष संवेदनशीलता अनुसार छुट्टै व्यवस्था गरिनुपर्ने माग दोहोर्याएका छन्।

यस आन्दोलनबारे सरकार र स्वास्थ्य मन्त्रालयले तत्काल कुनै ठोस पहल नगरेको भन्दै बिरामी र तिनका आफन्तले चिन्ता व्यक्त गरेका छन्। आन्दोलन चाँडै अन्त्य नभए स्थिति झन् भयावह बन्ने संकेत देखिएको छ।