काठमाडौं, असार २५ – पाटन उच्च अदालतले पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको काम रोक्न नपर्ने आदेश दिएको छ।
स्वच्छन्द बिकोई बिल्डर्सले काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध अदालतमा निवेदन दिएपछि अदालतले महानगरको निर्णय कार्यान्वयन नगर्न भनेको हो।
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले दिएको आदेशअनुसार, टावर निर्माणको लागि नक्सा स्वीकृति भइसकेको, तला थप्ने अनुमति महानगरबाट लिइसकेको, दस्तुर पनि तिरिसकेको अवस्थामा निर्माण रोक्नु उचित नहुने ठहर गरिएको छ।
यसअघि ९ माघ २०८१ मा काठमाडौं महानगरपालिकाले निर्माण कार्य रोक्न बिल्डर्स कम्पनीलाई पत्र पठाएको थियो। तर निर्माण अनुमति प्राप्त गरिसकेको कम्पनीले उक्त निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याएको थियो।
अदालतको यो आदेशपछि अब निर्माण कम्पनीले टावरको काम अगाडि बढाउन सक्नेछ। यद्यपि, यो आदेश एकतर्फी सुनुवाइका आधारमा भएकाले महानगरपालिकाले पुनरावलोकनको माग गर्दै अर्को निवेदन दिन सक्ने प्रावधान छ।
यसै विषयमा मेयर बालेन शाहले १२ तला स्वीकृत टावरलाई १९ तला बनाइएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन समिति बनाइसकेका छन्।
भित्री विवाद र टकरावका कारण काठमाडौं महानगरपालिकाले हालसम्म बजेटसमेत ल्याउन सकेको छैन।