काठमाडौं, असार ३१ – नेपालभर मनसुन सक्रिय हुँदै गएसँगै देशका विभिन्न भूभागमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागले कोशीदेखि लुम्बिनी प्रदेशसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै ३६ जिल्लालाई बाढीको मध्यम जोखिममा राखेको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपाल नजिक सरेकाले ती क्षेत्रमा पानी पर्ने सम्भावना बढी छ। यसै सन्दर्भमा लामो समयदेखि खडेरीको सामना गरिरहेको मधेश प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार आज राति पूर्वी मधेशमा र भोलि राति सम्पूर्ण मधेशमा हल्का वर्षा हुन सक्ने अनुमान छ। सरकारद्वारा खडेरीग्रस्त घोषणा गरिएका मधेशका धेरैजसो भूभागमा धान रोपाइँ गर्न सकिएको छैन, जसले खाद्य संकटको चिन्ता बढाएको छ। वर्षाले केही हदसम्म राहत पुर्याउन सक्ने बताइए पनि अझै निश्चित भन्न गाह्रो रहेको मौसमविद्हरूको भनाइ छ।
यसैबीच, काठमाडौं उपत्यकासहित देशका ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बग्ने साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाइएको छ। विशेषगरी ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका क्षेत्रमा बहाव एक्कासि बढ्न सक्ने छ।
अन्य जोखिमयुक्त जिल्लाहरूमा इलाम, झापा, पाँचथर, ओखलढुंगा, खोटाङ, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, अछाम, बझाङ, जाजरकोट, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला समेत रहेका छन्।
विभागले सबै नागरिकलाई सतर्कता अपनाउन, बाढीको सम्भावित असरबाट जोगिन सावधानीपूर्वक बस्न तथा आवश्यक परेमा सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।