काठमाडौं, असार ३२ – शिक्षाको व्यापारीकरणविरुद्ध विरोध जनाउँदै विद्यार्थी संगठनले बुधबार साँझ काठमाडौंको सिंहदरबार नजिकै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरेका छन्।
अखिल (क्रान्तिकारी) निकट नेकपा बहुमटका विद्यार्थीहरूले डिल्लिबजारबाट सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन्। संगठनका सचिव डीबी शाहीका अनुसार, यो कार्य पूर्वघोषित चरणबद्ध आन्दोलन अन्तर्गतको भाग हो।
उनले साउन २ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा भइसकेको जानकारी दिँदै बुधबारको पुत्ला दहन सोही हड्ताल सफल बनाउन गरिएको बताए।
विद्यार्थीहरूले संविधानको धारा ३१ मा उल्लेखित शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन गरिएको, शिक्षा प्रणालीमा निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन दिइएको, तथा शैक्षिक माफिया र दलालहरूको संरक्षण गरिएको आरोप लगाएका छन्।
सरकारले जनमुखी शिक्षा ऐनको तर्जुमा नगरीकन शिक्षालाई नाफाको माध्यम बनाउने रणनीति लिएको भन्दै उनीहरूले मसाल जुलुससहित आक्रोश प्रकट गरेका थिए।
शिक्षा क्षेत्रमा सुधारको माग गर्दै विद्यार्थीहरू आगामी दिनहरूमा थप सशक्त आन्दोलन गर्ने तयारीमा रहेको जनाइएको छ।