काठमाडौं, साउन ११ – संघीय निजामती सेवा विधेयकमा उल्लेख भएको ‘कुलिङ पिरियड’ (सेवा अवकाशपछि पुनः नियुक्तिमा लाग्ने अवधी) को व्यवस्था हटाउने प्रक्रियामा भएको गडबडीसम्बन्धी छानबिनका क्रममा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको स्वीकार गरेका छन्।
संसदीय विशेष छानबिन समितिले गत बुधबार पाण्डेयसँग गरेको सोधपुछका क्रममा उनले मुख्य सचिव एकनारायण अर्यालको आग्रहमा प्रधानमन्त्रीसँग भेटको समय मिलाउन भूमिका खेलेको बताएका हुन्। “मुख्य सचिवले फोन गरेर ‘सम्माननीय व्यक्तिहरूसँग भेट गर्नुपर्छ’ भनेपछि समय मिलाइदिएको मात्र हुँ,” उनले बताएका छन्।
छानबिन समितिले संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा दुई वर्षे कुलिङ पिरियड राखिएको तर अन्तिमरूपमा त्यो प्रावधान किन हटाइयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। यही सिलसिलामा समितिले संसदका महासचिव पाण्डेयसँग गोप्य छलफल गरेको थियो।
पाण्डेयले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग भेट गर्न पनि सहजीकरण गरेको बताए। तर समितिका सदस्यहरूले कानुनी रूपमा संसद्को अधिकारक्षेत्रभित्रको विषयमा कार्यपालिका (सरकार) पक्षबाट दबाब आयो भने त्यसलाई किन अस्वीकार नगरेको भन्ने प्रश्न उठाए।
छलफलमा महासचिव पाण्डेयलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न कार्यालयमै गएको, तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटको प्रयास भएको विषयमा सोधपुछ गरिएको थियो। पाण्डेयले प्रधानमन्त्रीसँग भेटेको स्वीकार गरे पनि देउवासँगको भेट अस्वीकार गरेका छन्।
यता समितिका सदस्यहरूले पाण्डेयमाथि पदीय जिम्मेवारी सही तरिकाले निर्वाह नगरेको आरोप लगाएका छन्। तर पाण्डेयले भने आफूले कुनै पनि निर्णयमा हस्तक्षेप नगरेको, केवल सहजीकरण मात्र गरेको जिकिर गरेका छन्।
कुलिङ पिरियड प्रकरणले व्यापक चासो बटुलिरहेका बेला संसद सचिवालयमै यस्ता भेटघाट र समन्वय भएको स्वीकारेपछि यसले विधेयक प्रक्रिया पारदर्शिता र निष्पक्षतामाथि थप प्रश्न उठाएको छ।