रवि लामिछानेले दिए थुनामुक्तिका लागि रुपन्देही अदालतमा निवेदन


रवि लामिछानेले दिए थुनामुक्तिका लागि रुपन्देही अदालतमा निवेदन
  • नवकिरण
  • श्रावण २२, २०८२

बुटवल, साउन २२ – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्।

उनले राजनीतिक प्रतिशोधको कारण आफूलाई थुनामा राखिएको आरोप लगाउँदै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गराउन अदालतसँग माग गरेका हुन्। लामिछानेले सहकारी ठगीमा आफू संलग्न नरहेको उल्लेख गर्दै, आफूले भोगेको भनिएको बिगोको रकम बैंक जमानतमा राखेर रिहा हुनुपर्ने निवेदन दिएका छन्।

रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार उक्त निवेदन १९ साउनमा अदालतमा दर्ता भए पनि सार्वजनिक रुपमा जानकारी तीन दिनपछि मात्र आएको हो। उनले बिहीबार मात्रै उक्त निवेदनबारे थाहा पाएको बताए।

लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा थुनामा छन्। यसअघि उनले काठमाडौं सर्ने प्रयास गरेका थिए, तर गृह मन्त्रालयले त्यसलाई रोकेको थियो।

यसअघि रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालतले सो आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय सुनाएको थियो।

लामिछाने यसअघि पनि सोही प्रकरणमा ८४ दिन हिरासतमा बसेर रिहा भएका थिए र त्यसपछि २५ दिनमात्रै बाहिर रहेका थिए।