काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी हुन निषेध गरिएको छ । आज बसेको अभियानकर्ताहरूको बैठकले प्रसाईं आए ‘नट अलाउड’ ब्यानर देखाउने निर्णय गरेको हो ।
अभियानका सदस्य आदित्य मिश्रले अदालतमा मुद्दा रहेकाले प्रसाईंलाई आन्दोलनमा स्वागत नगर्ने बताए । उनले भने, “हाम्रो आन्दोलन शुद्ध जेन जेडको हो, त्यसैले विवादित व्यक्तिलाई स्थान छैन ।”
यसअघि प्रसाईंले सामाजिक सञ्जालमार्फत आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए । जेन जेडले भने सरकारलाई सामाजिक सञ्जाल निशर्त खोल्न, वृद्ध नेताले प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउन र अख्तियारमा निष्पक्ष नियुक्ति गर्नुपर्ने माग अघि सारेका छन् ।
आन्दोलन भोलि बिहान ९ बजेदेखि माइतीघर मण्डलामा सुरु हुनेछ ।