काठमाडौँ, भदौ २८ – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नयाँ अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै मेयर हमालले कार्कीको नियुक्तिले नयाँ इतिहास रचेको बताएका छन्। उनले भने, “नेपालले पहिलो महिला प्रधानन्यायाधीश र अहिले पहिलो महिला प्रधानमन्त्री पनि सुशीला कार्कीज्यूबाटै पाएको छ। यो एउटा ऐतिहासिक क्षण हो।”
तर, उनले मुलुकमा सुशासन र विकास रोकिएको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै तत्काल कडा कदम चाल्न सरकारलाई आग्रह गरे। “भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन, सुशासन नभएसम्म प्रगति सम्भव छैन,” उनले जोड दिए।
हमालले सरकारलाई एक हप्ताभित्र भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी उनीहरूलाई अभियोगसहित जेल हाल्न माग गरेका छन्। यो माग जेनजी आन्दोलनको पनि मूल एजेन्डा रहेको उनले स्मरण गराए।
त्यस्तै, आन्दोलनका क्रममा शहीद भएका तथा घाइतेहरूको अवस्थाबारे स्पष्ट विवरण सार्वजनिक गर्न पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरे। “शहीदको संख्याबारे अन्योल छ। सरकारले सही तथ्यांक, नाम–ठेगाना र घाइतेहरूको उपचार अवस्था खुलाउनुपर्छ,” हमालले भने।
उनले नयाँ प्रधानमन्त्रीको कार्यकाल सफल होस् भन्ने शुभकामना दिँदै, देशमा सुशासन र विकासका लागि निर्णायक कदम चाल्ने अपेक्षा व्यक्त गरे।