काठमाडौं, असोज १३ – भदौ २३–२४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले जनताले रोजे प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। अलजजिरासँगको अन्तर्वार्तामा उनले आन्दोलनका मागहरू जनताको आवाजबाटै तय गर्नुपर्ने र दोषी नेतामाथि कडा अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
गुरुङका अनुसार आन्दोलनलाई व्यवस्थित गर्न डिजिटल प्लेटफर्म ‘डिस्कर्ड’ प्रयोग गरिएको हो, जसले हजारौँ युवालाई जोड्न मद्दत गरेको छ। उनले आन्दोलनले देखाएको उत्साहलाई अब राजनीतिक विकल्पमा परिणत गर्ने समय आएको उल्लेख गरे।
पुराना दललाई चुनावमा सहभागी हुन नदिने, उनीहरूको अपराध छानबिन गरेर जनतालाई जवाफदेही बनाउनुपर्ने दाबी गर्दै गुरुङले भने, “हामी भ्रष्ट र विगतका अपराधीलाई कुनै हालतमा स्वीकार्दैनौँ।”
राजावादीहरूसँग सहकार्य गर्ने योजना नभएको प्रष्ट पार्दै उनले राष्ट्रिय झण्डामुनि मात्र सबै नेपाली एकजुट हुनुपर्ने बताए। छिमेकी मुलुकहरूसँग सम्मानजनक सम्बन्ध कायम गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याए।
“म अहिले आफैँलाई प्रधानमन्त्रीका लागि सबैभन्दा योग्य व्यक्ति भन्न सक्दिनँ,” गुरुङले भने, “तर जनताले विश्वास गरेर जिम्मेवारी दिए भने त्यो चुनौती लिन म तयार छु।”