काठमाडौं, असोज २१ – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी प्रहरीमा बुझाएको छ।
अनेरास्ववियुका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिक बडालले मंगलबार काठमाडौं प्रहरी परिसरमा पुगेर जाहेरी बुझाएका हुन्। जाहेरी बुझाएपछि प्रहरीले सरकारी वकिल कार्यालयसँग छलफल गरेर मात्र दर्ता गर्ने वा नगर्ने निर्णय लिने जनाएको छ।
पूर्वअध्यक्ष बडालले भने, “हामीले जाहेरी प्रहरीमा बुझाइसकेका छौँ। यदि २४ घण्टाभित्र जाहेरी दर्ता भएन भने न्यायिक प्रक्रिया अघि बढाउनेछौं।”
महासचिव धामीले पछिल्ला घटनाक्रमले अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण गराएको बताउँदै भने, “कुनै व्यक्तिको हुकुमले सरकारी कार्यालय चल्दैन। विधिको शासन हुनुपर्छ। सरकारी कार्यालयमा छिरेर उर्दी जारी गर्ने कार्य स्वीकार्य छैन। आफू दल बाहिरको व्यक्ति भएको भन्दै हुकुमी शासन चलाउन पाइँदैन।”
उनले कानून र प्रक्रियाको पालना सबैका लागि बराबर हुनुपर्ने भन्दै सरकारले पनि निष्पक्ष रूपमा काम गर्नुपर्ने जोड दिए।