काठमाडौं, असोज २२ – गत वर्ष हमासको आक्रमणपछि गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो क्लिप आज सार्वजनिक गरिँदैछ।
‘होस्टेज फ्यामिली फोरम’ नामक संस्थाले जोशीको परिवारसँग समन्वय गरी भिडियो सार्वजनिक गर्ने जनाएको छ। उक्त संस्था इजरायलमा बन्धक र हराइएका व्यक्तिहरूका परिवारहरूको आवाज उठाउने उद्देश्यले स्थापना गरिएको हो।
जोशीलाई २०२३ अक्टोबर ७ मा हमास समूहले इजरायलमा गरेको आक्रमणका क्रममा अपहरण गरी गाजामा लगेको थियो। उनका साथीहरू सुरक्षित रहँदा जोशी बेपत्ता भएका थिए।
इजरायली सेनाले प्राप्त गरेको भिडियोबाट लिइएको ३० सेकेन्ड लामो दृश्य क्लिप आज बेलुकी इजरायल समय अनुसार ७:५५ बजे (नेपाल समय राति १०:४० बजे) सार्वजनिक गरिनेछ। भिडियोको स्थिर तस्बिर भने पहिले नै सार्वजनिक गरिएको बताइएको छ।
फोरमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो भिडियो गाजाबाट आएको जीवनको संकेत हो, जसले हामीलाई विपिन अझै जीवित रहेको विश्वास बलियो बनाएको छ।”
इजरायल सरकारले विपिनसहित दुई बन्धकको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। तर हालसम्म जोशीको मृत्युबारे आधिकारिक पुष्टि भएको छैन।
विपिन जोशी इजरायलमा कृषि अध्ययनका लागि विद्यार्थी भिसामा पुगेका थिए। उनको अपहरणपश्चात् परिवार र नेपाली समुदायले निरन्तर उद्धारका लागि सरकार र अन्तर्राष्ट्रिय निकायलाई आग्रह गर्दै आएका छन्।