|Oplus_131072
काठमाडौं, असोज २७ – इजरायलमा हमासले अपहरण गरेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ।
आज बिहान इजरायलको स्थानीय समय अनुसार साढे ७ बजे, इजरायली रक्षा सेनाका (आईडीएफ) एक अधिकारीले विपिनको निधन भएको औपचारिक जानकारी दिएका हुन्। उक्त जानकारी भिडियो कन्फरेन्समार्फत इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी, र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई दिइएको राजदूत पण्डितले बताए।
राजदूत पण्डितका अनुसार, आईडीएफका अधिकारीले सो बैठकमा भनेका थिए — “विपिन इज नो मोर।”
हाल अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम भएको छ। त्यस क्रममा बन्धक र मृतकहरूको सूची सार्वजनिक गरिएको छ, तर ती सूचीहरूमा विपिनको नाम भने समावेश गरिएको छैन।
कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। सो घटनामा १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो। विपिनलाई हमासका लडाकूहरूले आफूसँगै लिएर गएका थिए।
बन्धक बनेको केही समयपछि, विपिनलाई अन्तिम पटक गाजाको अल शिफा अस्पतालमा सन् २०२३ नोभेम्बर १७ मा देखिएको थियो। त्यसपछि उनीबारे कुनै पनि प्रष्ट विवरण बाहिर आएको थिएन।
उनकी आमा र बहिनीले सरकारको सहयोगमा इजरायल पुगेर खोजी प्रयास गरे पनि परिणाम नदेखिएपछि हाल उनीहरू अमेरिकामा छन्। नेपाल सरकारले कूटनीतिक स्तरमा निरन्तर पहल गरे पनि ठोस प्रगति हुन सकेको छैन।