काठमाडौं, कार्तिक १ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं उपत्यका बाहिर जान रोकिएको भन्दै सरकारले गरेको कदमप्रति तीव्र आपत्ति जनाएका छन्। उनले कानुनी आधारबिना मौखिक आदेशमार्फत रोक लगाउने प्रवृत्तिको विरोध गर्दै चेतावनी दिए कि आफूलाई रोक्ने प्रयास असफल हुनेछ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै ओलीले भने, “नेपालको सिमानाभित्र जहाँ जानुपर्छ, म जान्छु। कुन कानुनले रोक्छ, कुन लोकतन्त्रले थुन्छ, हेर्न बाँकी छ।”
उनले सरकारलाई लक्षित गर्दै प्रश्न गरे, “मौखिक आदेशले दलहरूलाई सीमित पार्ने, चुनावमा भाग लिन नदिने ? अनि त्यसरी फागुन २१ मा चुनाव गर्ने ? के यो लोकतन्त्र हो ?”
ओलीले झापामा आफ्नो घर जलाइएका घटना सम्झिँदै सरकारको दमनकारी व्यवहारप्रति आक्रोश पोखे। उनले थपे, “हामी जेलभित्र बसेर यो देशमा लोकतन्त्र ल्याएका हौं, डराएर बस्ने होइन।”
अध्यक्ष ओलीले आगामी निर्वाचनमा असुरक्षाको संकेत गर्दै आरोप लगाए कि अपराधीहरू प्रहरीको बर्दीमा हतियारसहित मतदान केन्द्रसम्म पुग्ने अवस्था सिर्जना हुँदैछ। उनले प्रश्न गरे, “के सरकार र अपराधीबीच कुनै सम्झौता भएको हो ? यदि होइन भने यस्तो अवस्था किन बनाइँदैछ ?”
ओलीले अन्त्यमा चेतावनी दिए, “मौखिक आदेशले नेताहरूलाई थुन्न खोज्नेहरू लोकतन्त्रका शत्रु हुन्। हामीलाई यस्तो धम्कीले रोक्न सकिँदैन।”