मन्त्री महावीर पुनको अनुरोध : ‘रिबन काट्ने र भाषण गर्ने कार्यक्रममा नबोलाउनुहोस्’


मन्त्री महावीर पुनको अनुरोध : ‘रिबन काट्ने र भाषण गर्ने कार्यक्रममा नबोलाउनुहोस्’
  • नवकिरण
  • कार्तिक १०, २०८२

काठमाडौं, कार्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गर्दै आफ्नो सम्पूर्ण ध्यान काममा केन्द्रित गर्न चाहेको बताएका छन्।

सोमबार फेसबुक पोस्टमार्फत मन्त्री पुनले लेखेका छन् – “कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन वा शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा नगर्नु होला।”

उनले उद्घाटन, रिबन काट्ने, वा भाषण दिनेजस्ता औपचारिक समारोहहरूमा समय खर्चिन चाहँदैनन् भन्दै काममै केन्द्रित रहन चाहेको स्पष्ट सन्देश दिएका छन्।

मन्त्री पुनले आफ्नो कार्यशैली फरक हुने संकेत दिंदै लेखेका छन् कि, उनी अनावश्यक औपचारिकता र देखावटभन्दा कामलाई प्राथमिकता दिने पक्षमा छन्। उनले थपे, “मैले युनेस्कोको उज्बेकिस्तानमा भएको महासभा र ब्रिटिश काउन्सिलको नाइजेरियामा भएको सम्मेलनमा समेत भाग लिएको छैन।”

उनका अनुसार, अहिले विदेश गएका केही मन्त्रीहरू पनि अत्यावश्यक र सरकारी हितका कामका लागि मात्रै गएको बताएका छन्। उनले “मन्त्रीहरू विदेश घुम्दै छन्” भन्ने हल्ला नगर्न आग्रह गर्दै जनतालाई भ्रममा नपर्न अपिल गरेका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका वैज्ञानिक पुन मन्त्री बनेदेखि नै आफ्नो व्यावहारिक र काममुखी कार्यशैलीका कारण चर्चामा छन्। उनका पछिल्ला अभिव्यक्तिहरूले उनलाई अन्य मन्त्रीहरूभन्दा फरक सोचका व्यक्तिका रूपमा प्रस्तुत गरेका छन्।