पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र हद तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट


पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र हद तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
  • नवकिरण
  • कार्तिक ११, २०८२

काठमाडौँ, कार्तिक ११ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्च पदस्थ व्यक्तिको पासपोर्ट रोक्का र काठमाडौं उपत्यका नछोड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता प्रेमराज सिलवालले मंगलबार बिहान सर्वोच्चमा रिट पेस गर्दै भदौ २३ र २४ गतेको घटनापछि गठन गरिएको छानबिन आयोगको निर्णय असंवैधानिक र अधिकारविपरीत रहेको बताएका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाउने र पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो।

सिलवालले उक्त निर्णयले नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकार र व्यक्तिगत स्वतन्त्रतालाई हनन गरेको दाबी गरेका छन्। उनले सर्वोच्चमा परमादेश जारी गरी यस्तो प्रकारको रोक नलगाउन आदेश माग गरेका छन्।

सर्वोच्च प्रशासनले रिट दर्ता प्रक्रिया अघि बढाइरहेको जनाएको छ। प्रारम्भिक अध्ययनपछि बुधबार यसबारे पहिलो सुनुवाइ हुने बताइएको छ।

यसअघि पनि संसद् विघटन र सरकार गठनसम्बन्धी विवादमा १० भन्दा बढी रिट सर्वोच्चमा दर्ता भइसकेका छन्।