काठमाडौं, कार्तिक १२ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबार सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उक्त बैठकमा सरकारी सुरक्षाविना उपस्थित भएका छन्, जसले राजनीतिक वृत्तमा नयाँ चर्चा उत्पन्न गरेको छ।
मंगलबार मात्रै सरकारले नेपालका लागि खटिएका सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो। गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा भ्रष्टाचार मुद्दामा संलग्न व्यक्तिलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुरक्षा सुविधा नदिने निर्णय गरिएको हो।
पूर्वप्रधानमन्त्री नेपाललाई पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीसहित रिहा गरेको थियो। उनीका लागि यसअघि १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी परिचालित थिए।
यसैबीच, जेनजी आन्दोलनपछि पहिलो पटक बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था, आगामी निर्वाचन तयारी, संगठन सुदृढीकरण, आन्तरिक व्यवस्थापन र नयाँ मनोनीत केन्द्रीय सदस्यहरूको शपथ लगायतका विषयमा विस्तृत छलफल हुँदैछ।
बैठकमा पार्टी एकता समितिले हालसम्मको प्रगतिबारे प्रतिवेदन पनि पेस गर्ने तयारी गरेको छ। बेदुराम भुसालको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय एकता समितिले माओवादी केन्द्रसहितका वामपन्थी दलसँग पार्टी एकताको सम्भावनामा निरन्तर संवाद जारी राखेको बताइएको छ।
पार्टी स्रोतका अनुसार, बैठकमा “जेनजी आन्दोलनपछि पार्टीको मार्गरेखा” सम्बन्धी ठोस रणनीति तय हुने र राष्ट्रिय राजनीतिमा वाम एकताको नयाँ सम्भावनाबारे पनि दिशा–निर्देशन आउने अपेक्षा गरिएको छ।
