रवि सभापति, बालेन भावी प्रधानमन्त्री: रास्वपा–बालेन सहमति


रवि सभापति, बालेन भावी प्रधानमन्त्री: रास्वपा–बालेन सहमति
  • नवकिरण
  • पौष १३, २०८२

काठमाडौँ, पुस १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच बृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ।

आइतबार सम्पन्न छलफलपछि भएको सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने भएको छ।

दुवै पक्षबीच लामो समयदेखि सहकार्य र एकताबारे संवाद चल्दै आएको थियो। विशेषगरी गत साता सोमबारदेखि रवि लामिछाने र बालेन शाहबीच निरन्तर भेटघाट तथा औपचारिक–अनौपचारिक छलफल भएका थिए। साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशामा सहमति जुटेपछि अन्ततः बृहत् एकताको खाका तयार भएको हो।

सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले उठाएका आवाजलाई संस्थागत रूपमा अघि बढाउने उल्लेख गरिएको छ, जसमा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलगायत विभिन्न जनआन्दोलनका मागहरू समेटिएको छ।

बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सुदृढ र व्यापक बनाइने सहमतिमा उल्लेख छ। योग्य, समावेशी र सार्वजनिक विश्वास आर्जन गरेका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने जनाइएको छ। साथै, रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत गोलबद्ध हुँदै अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने निर्णय गरिएको छ।