५० लाख एसएमएस पठाएर राजसंस्था पुनःस्थापनाको आह्वान गर्ने व्यक्ति पक्राउ


५० लाख एसएमएस पठाएर राजसंस्था पुनःस्थापनाको आह्वान गर्ने व्यक्ति पक्राउ
  • नवकिरण
  • पौष ३०, २०८२

काठमाडौँ, पुस ३० – प्रदेश संरचना खारेज गरी सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै लाखौँ नागरिकलाई मोबाइल सन्देश पठाउने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले चितवन घर भएका ३४ वर्षीय निर्देश सेढाईंलाई काठमाडौँको हात्तीसार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गर्दै ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख मोबाइल नम्बरमा एकैपटक एसएमएस पठाएका थिए। उनले उक्त कार्य आफूले नै गरेको स्वीकार गरिसकेका छन्।

प्रहरीका अनुसार पठाइएको सन्देशमा प्रदेश प्रणाली हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आग्रह गरिएको थियो। साथै, पुस ३० गते बालुवाटारमा उपस्थित हुन आह्वान गरिएको उल्लेख छ।

गाडी व्यवसायमा संलग्न सेढाईंमाथि सर्वसाधारणलाई आतङ्कित बनाएको र निषेधित क्षेत्रमा उपस्थित हुन उक्साएको आरोप लागेको छ। यस विषयमा सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीले यस्ता गतिविधिले सामाजिक शान्ति र सुरक्षा प्रभावित हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।