आगामी प्रतिनिधिसभामा करिब दुई तिहाइ नयाँ अनुहार, अधिकांश निवर्तमान सांसद मैदानबाहिर


आगामी प्रतिनिधिसभामा करिब दुई तिहाइ नयाँ अनुहार, अधिकांश निवर्तमान सांसद मैदानबाहिर
  • नवकिरण
  • माघ १२, २०८२

काठमाडौं, माघ १२ – २१ फागुनपछि गठन हुने नयाँ प्रतिनिधिसभामा हालका करिब दुई तिहाइ सांसदको पुनरागमन नहुने देखिएको छ। विघटित प्रतिनिधिसभाका ठूलो संख्यामा सांसदहरू यसपटक चुनावी प्रतिस्पर्धामा छैनन्।

अघिल्लो प्रतिनिधिसभामा रहेका करिब १७० निवर्तमान सांसद उम्मेदवार नै नबनेका कारण आगामी संसद्‌मा व्यापक परिवर्तन हुने निश्चितजस्तै देखिन्छ। प्रतिस्पर्धामा उत्रिएका कतिपय निवर्तमान सांसदहरू पनि आपसमा भिडिरहेका छन्।

प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ नयाँ अनुहारको प्रवेश उल्लेख्य हुने देखिन्छ। प्रत्यक्षतर्फ करिब ७० निवर्तमान सांसद उम्मेदवार छैनन् भने समानुपातिकतर्फ पनि सीमित पुराना अनुहार मात्रै मैदानमा छन्।

कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका थुप्रै चर्चित नेताहरू यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। केही निर्वाचन क्षेत्रमा भने निवर्तमान सांसदहरूबीच नै प्रतिस्पर्धा भइरहेको छ।

प्रदेश–प्रदेशमा दलहरूले नयाँ उम्मेदवार अघि सारेका कारण काठमाडौं उपत्यकादेखि सुदूरपश्चिमसम्म धेरै स्थानमा नयाँ प्रतिनिधि निर्वाचित हुने सम्भावना देखिएको छ।

संघीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईका अनुसार नयाँ सांसदहरूको ठूलो उपस्थितिले संसदीय अभ्यास सुधार गर्ने अवसर दिन सक्छ, तर त्यसका लागि दलको नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।