एलपीजी ग्यास आपूर्ति सहज, हल्लाको भरमा स्टक नगर्न आयल निगमको अपिल


एलपीजी ग्यास आपूर्ति सहज, हल्लाको भरमा स्टक नगर्न आयल निगमको अपिल
  • नवकिरण
  • माघ २१, २०८२

काठमाडौँ, माघ २१ – नेपाल आयल निगमले देशभर एलपीजी ग्यासको आपूर्ति सहज रहेको जनाउँदै अभावको आशंकामा अनावश्यक रूपमा ग्यास थुपार्ने काम नगर्न उपभोक्तालाई आग्रह गरेको छ। बजारमा फैलिएको हल्लाका कारण माग कृत्रिम रूपमा बढ्दा वितरणमा समस्या देखिन सक्ने निगमको भनाइ छ।

निगमका प्रवन्ध निर्देशक चण्डिका भट्टले भारतबाट हाल आवश्यकताभन्दा बढी ग्यास आयात भइरहेको जानकारी दिए। उनका अनुसार निर्वाचनको समयसम्म पनि ग्यास आपूर्ति अवरोध नहुने गरी व्यवस्थापन गरिएको छ। पछिल्ला दिनहरूमा शनिबार ११८ बुलेट (१ लाख ४९ हजार ५०० सिलिण्डर), सोमबार ११५ बुलेट (१ लाख ४५ हजार ७०० सिलिण्डर) र मंगलबार १३२ बुलेट (१ लाख ६७ हजार ३०० सिलिण्डर) ग्यास आयात भएको निगमले जनाएको छ।

भट्टका अनुसार आयात गरिएका केही ग्यास बुलेटहरू हाल ट्रान्जिटमै रहेका छन् र छिट्टै नेपाल भित्रिने छन्। निगमले उपभोक्तालाई आवश्यक मात्रामा ग्यास प्रयोग गर्न र अफवाहमा नपर्न अनुरोध गरेको छ।