काठमाडौं, वैशाख ३१ – जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले संघीय सरकारले विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले संघीय सरकारको काम ठूला नीति र समन्वयमा सीमित हुनुपर्ने उल्लेख गरे।
‘फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन,’ उनले भने, ‘अब विकास निर्माणका जिम्मेवारी स्थानीय सरकारलाई सुम्पनुपर्छ।’
उनले ‘जनता आवास कार्यक्रम’ले विपन्नलाई विस्थापित बनाएको आरोप लगाउँदै जनमुखी बजेटको आवश्यकता औंल्याए।
डा. राउतले सिंहदरबारबाट नागरिकमैत्री सेवा दिन नसकिने व्यवहारले प्रमाणित भइसकेको पनि बताए।