तीनकुने घटनालाई धर्मसँग जोड्न मिल्दैन : गृहमन्त्री लेखक


तीनकुने घटनालाई धर्मसँग जोड्न मिल्दैन : गृहमन्त्री लेखक

|गृहमन्त्री लेखक काठमाडौँ, ५ जेठः गृहमन्त्री रमेश लेखक सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकम सांसदहरुले गृह मन्त्रालयसम्बन्धी राख्नुभएको मौखिक प्रश्नहरुको जवाफ दिनुहुँदै । तस्बिरः किरणराज विष्टररासस

  • नवकिरण
  • जेष्ठ ५, २०८२

काठमाडौं, जेठ ५ – गृहमन्त्री रमेश लेखकले काठमाडौंको तीनकुनेमा भएको हालको प्रदर्शनलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर व्याख्या गर्न नहुने स्पष्ट पारेका छन्।

प्रतिनिधि सभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनै पनि धर्मलाई राजनीतिक अभिष्ट पूरा गर्न प्रयोग गर्नु अनुचित भएको बताएका हुन्। उनले तीनकुने घटनामा देखिएको आगजनी र हिंसालाई अपराधजन्य कार्यको रूपमा व्याख्या गर्दै त्यसलाई धार्मिक दृष्टिकोणबाट हेर्न मिल्दैन भने।

‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वको शिक्षा दिन्छ,’ गृहमन्त्री लेखकले भने, ‘तीनकुनेमा त्यो दर्शन देखिएन, हिंसालाई धर्मसँग जोड्न सकिँदैन।’

उनले तीनकुनेमा गरिएको राजतन्त्रको वकालतलाई नेपालको संविधान विपरीत ठहर गर्दै त्यसलाई कुनै हालतमा उचित मान्न नसकिने बताए।

गृहमन्त्री लेखकले धर्मका नाममा अराजकता र असहिष्णुता फैलाउने प्रयासहरू लोकतान्त्रिक समाजका लागि घातक हुने उल्लेख गरे। उनले धर्मलाई अपराधजन्य कार्य र राजनीतिक स्वार्थ पूर्तिका लागि प्रयोग नगर्न सबैलाई आग्रह गरे।

‘कुनै पनि धर्म उत्कृष्ट वा अनुत्कृष्ट हुँदैन, सबै धर्म समान छन्,’ उनले भने, ‘धार्मिक आवरणमा राजनीति र अपराध गर्नु संविधान र समाज दुवैका लागि घातक हुन्छ।’