काठमाडौं, जेठ ७ – देशभर जारी वर्षाका क्रमसँगै यस वर्ष मनसुन छिटो भित्रिन सक्ने संकेत देखिएको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण गरेको छ।
बंगालको खाडी, अरेबियन सागर र स्थानीय वायुले हाल नेपालमा वर्षा गराइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार यही प्रणालीले केही दिन वर्षा गराउनेछ।
वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले मनसुनी हावाको गतिविधि हेर्दा यसपटक मनसुन ढिलो नहुन सक्ने संकेत मिलेको बताए। ‘हाल देखिएको जलवाष्पयुक्त हावाको चाल मनसुनी शैलीसँग मिल्दोजुल्दो छ,’ उनले भने, ‘तर प्रि मनसुनकै आधारमा ठ्याक्कै कहिले मनसुन भित्रिन्छ भन्न सकिन्न।’
नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिने र २ अक्टोबरमा बाहिरिने गर्छ। मनसुन अवधिमा लगभग ११२ दिनसम्म लगातार पानी पर्ने भएकाले मुख्य बाली धानको उत्पादनमा सहयोग पुग्ने अनुमान गरिएको छ। तर, वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता प्रकोपको जोखिम पनि रहने मौसमविद्हरूको चेतावनी छ।
मनसुन कहाँबाट आउँछ भन्ने विषयमा मौसमविद्हरू भन्छन् – भूमध्य सागर र हिन्द महासागर हुँदै आउने हावाहुरी बंगालको खाडी र अरेबियन सागरबाट नेपाल प्रवेश गर्छ। हाल मनसुनी वायु श्रीलंका आसपास पुगेको र भारतको केरला, सिक्किम हुँदै नेपाल प्रवेश गर्ने प्रक्रियामा रहेको जनाइएको छ।
यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र तापक्रम हुने प्रारम्भिक पूर्वानुमानसमेत विभागले गरेको छ। यदि हावाको चाल स्थिर नभई लगातार अगाडि बढिरह्यो भने मनसुन छिट्टै भित्रिन सक्ने अनुमान गरिएको छ।