काठमाडौं, जेठ १२ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यदि लाखौं जनता सडकमा उत्रिए भने गणतन्त्र एकै दिनमा समाप्त हुन सक्ने चेतावनी दिएका छन्। सोमबार राजधानी काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा’ नामक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको उल्लेख गरे।
अध्यक्ष लिङ्देनले १९० वर्ष पुरानो ब्रिटिश शासन भारतमा भद्र अवज्ञा र सत्याग्रहको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै, नेपालमा दुई दशक नपुगेको गणतन्त्र पनि जनताको शान्तिपूर्ण आन्दोलनबाटै अन्त्य हुनसक्ने दाबी गरे।
उनले भने, “शान्तिपूर्ण आन्दोलन, भद्र अवज्ञा र सत्याग्रहमार्फत अहिलेको असफल व्यवस्थालाई हटाएर छाड्छौं।” साथै उनले युवाहरुलाई सचेत हुन आग्रह गर्दै देशको भविष्य जोगाउन उनीहरूको सक्रियता आवश्यक रहेको बताए।
“देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डजस्ता नेताहरूको केही बिग्रिँदैन, तर युवाहरूको भविष्य समाप्त हुन्छ,” लिङ्देनले भने। उनले राजनीतिक दलहरूकै कारण देश थप जटिल अवस्थामा पुगेको आरोप लगाउँदै समयमै व्यवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले युवाहरुलाई अबको नेतृत्व लिन तयार हुन आग्रह गरेका थिए।