भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, नियोजित आक्रमण हो : गृहमन्त्री रमेश लेखक


भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, नियोजित आक्रमण हो : गृहमन्त्री रमेश लेखक
  • नवकिरण
  • जेष्ठ १४, २०८२

काठमाडौं, जेठ १४ – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई मुछिएकोप्रति आपत्ति जनाउँदै त्यसलाई नियोजित आक्रमणको संज्ञा दिएका छन्। बुधबार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त आरोपलाई असत्य र षड्यन्त्रपूर्ण भनेका हुन्।

गृहमन्त्री लेखकले सहसचिव तीर्थराज भट्टराईसँगको सम्बन्धबारे पनि स्पष्ट पारेका छन्। उनले घटनामा आफू कुनै पनि रूपमा संलग्न नरहेको दाबी गर्दै भने, “यसमा मेरो कुनै संलग्नता छैन। मेरो विरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ, यो पूर्णतः षड्यन्त्र हो।”

पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धानलाई खुलेर स्वागत गर्ने बताए। उनले भने, “म अख्तियारको अनुसन्धानमा बाधा नपुग्ने गरी सहकार्य गर्न तयार छु। आयोगको काममा कुनै किसिमको प्रभाव नपारिनु पर्छ भन्नेमा म स्पष्ट छु।”

गृहमन्त्री लेखकमाथि पछिल्लो समय भिजिट भिसासम्बन्धी प्रकरणमा संलग्नताको आरोप लाग्दै आएको छ। तर उनले आफू कुनै पनि अनियमिततामा संलग्न नरहेको दाबी गर्दै सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन्।