झापा, जेठ २४ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हाल बर्खाको मौसम भएकाले तत्काल ठुलो आन्दोलन नहुने स्पष्ट पार्दै उपयुक्त समयमा पार्टीले निर्णायक आन्दोलन गर्ने बताएका छन्।
आज झापाको हल्दिबारीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाको आन्दोलन केवल राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि मात्रै नभई देशमा सुशासन र समृद्धिको मार्ग सुनिश्चित गर्नसमेत केन्द्रित रहेको बताए।
उनले तीन दशकदेखि सीमित नेताहरूको नेतृत्वमा देश चलिरहेको भन्दै अब नेतृत्व परिवर्तनको आवश्यकता रहेको धारणा राखे। लिङ्देनले जुनसुकै शासन व्यवस्था आए पनि मुलुकले अपेक्षित सुधार गर्न नसकेको उल्लेख गर्दै अबको आन्दोलन परिवर्तनका लागि निर्णायक हुने बताए।
अध्यक्ष लिङ्देनले संविधानमा उल्लेखित कतिपय विषयप्रति राप्रपाको फरक मत रहेको स्पष्ट पार्दै केही पक्ष भने सकारात्मक रहेको बताए। उनले देशको समग्र विकास, स्थायित्व र धार्मिक-सांस्कृतिक पहिचानका सवालमा राप्रपाको आन्दोलन निरन्तर जारी रहने जानकारी दिए।