राजावादीहरूले गरे विद्यार्थी रेविका खत्रीका लागि आर्थिक सहयोग


राजावादीहरूले गरे विद्यार्थी रेविका खत्रीका लागि आर्थिक सहयोग
  • नवकिरण
  • जेष्ठ २८, २०८२

काठमाडौं, जेठ २८ – १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएकी विद्यार्थी रेविका खत्री लाई राजावादी समूहले आर्थिक सहयोग गरेका छन्।

बुधबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्य डाक्टर प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतले रेविकालाई उपचारका लागि रू ८ लाख ३९ हजार ४ सय हस्तान्तरण गरेका छन्।

उक्त रकम उपचारका लागि सामाजिक अभियन्ता रमेशराज बाँस्तोलाको संयोजनमा पोर्चुगलबाट नेपाल पठाइएको हो। रेविका हाल महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छिन् र उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूको टोलीले नियमित सन्चार राखिरहेको बताइएको छ।

बुधबार हस्तान्तरण समारोहमा बोल्दै संयोजक तथा सामाजिक अभियन्ताहरूले रेविकालाई छिट्टै पूर्ण स्वस्थ भएर अध्ययनमा फर्किनको लागि शुभकामना व्यक्त गरे। राजावादीहरुले उनीप्रति देखाएको समर्थनले सामाजिक एकता र मानवीय सहयोगको महत्त्व पुनः एकपटक उजागर भएको छ।

सो अवसरमा बाँस्तोलाले पनि सरकारी स्वास्थ्य संस्थाले तत्काल रेविकाको उपचारमा सहयाेग गर्नु पर्ने जोड दिँदै स्वास्थ्य क्षेत्र सुधारको आह्वान गरे।