घोराहीको शिरडी साई मन्दिर टोलमा बाढी, दर्जनौं घर जलमग्न


घोराहीको शिरडी साई मन्दिर टोलमा बाढी, दर्जनौं घर जलमग्न
  • नवकिरण
  • अषाढ ४, २०८२

दाङ,  असार ४ – बुधबार बिहानको अविरल वर्षासँगै दाङको घोराहीस्थित ट्राफिक चोक नजिकको शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ। सातगाउँले लख्वारे कुलोमा आएको बाढी ओभरफ्लो भई बस्तीमा पस्दा दर्जनौं घरका भुइँतला जलमग्न भएका छन्।

स्थानीय बासिन्दाका अनुसार टोलका प्रायः सबै घरमा धमिलो फोहोर पानी पसेको छ। बाढीले आँगन, भान्साकोठा, बेडरुमलगायतका कोठा डुबानमा परेका छन्। पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीहरू भिजेका छन्।

स्थानीयवासीहरू मोटर चलाएर र भाँडामा पानी जम्मा गरेर फ्याँक्ने प्रयास गरिरहेका छन्। बाढीका कारण जनजीवन प्रभावित बनेको छ।

कटुवा खोलाको पानी लख्वार, कर्जाही लगायतका क्षेत्रतर्फ सिंचाइका लागि लख्वारे कुलोमार्फत् लगिन्छ। उक्त कुलो ट्राफिक चोक नजिकबाट क्रस गर्दै शिरडी साई मन्दिर टोलको माथिल्लो भाग हुँदै बग्ने गर्छ। तर खोलामा बाढी आउँदा कुलोको पानी ओभरफ्लो भई पूर्वतर्फको बस्तीमा पस्ने गरेको स्थानीयले बताएका छन्।

प्रशासन र सम्बन्धित निकायलाई समयमै ध्यान दिन स्थानीयवासीको आग्रह छ।