चितवन, असार ७ – पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा बारबिक्यू गर्ने क्रममा आगलागी हुँदा एक ६ वर्षीया बालिकाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
कावासोती नगरपालिका–८ निवासी प्रदीपकुमार भट्टराई परिवार र साथीभाइसँग रिसोर्टमा घुम्न गएका थिए। बारबिक्यूको क्रममा अचानक आगो सल्किँदा घाइते भएकी उनकी छोरी अन्नी भट्टराईको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी यादव ढकालले जानकारी दिए।
घटनामा अन्नीका बुबा ४४ वर्षीय प्रदीप भट्टराई, आमा ४१ वर्षीया मीना पौडेल, ‘द नेक्स्ट कन्सल्टेन्सी’मा कार्यरत २६ वर्षीय असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका छन्। उनीहरूलाई चितवन मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
प्रदीप भट्टराई स्थानीय मध्यविन्दु कलेजमा अध्यापन गर्छन्। घटनाका बेला उनका थप दुई साथी र छोरो नजिक नभएकाले उनीहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ।
रिसोर्टका म्यानेजर सागर पराजुलीका अनुसार शुक्रबार राति साढे ९ बजेतिर बारबिक्यू गरिरहेका बेला आगो अचानक सल्किएको थियो। उनका अनुसार बारबिक्यूको लागि कोइला थप्नेबित्तिकै ठूलो आगो सल्किएको हो।
‘प्रदीप सर मेरो पनि साथी हो, झण्डै एक वर्षपछि आउनुभएको हो। बारबिक्यू उहाँहरू आफैंले गर्नुभएको हो, हामीले कोइला मात्रै थपिदिएका थियौं,’ म्यानेजर पराजुलीले भने।
यसैबीच पीडित प्रदीप भट्टराईले भने रिसोर्टका एक स्टाफले पेट्रोल हालिदिँदा आगो एक्कासी बल्दै आफूहरू जलेको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी प्रमुख ढकालले पेट्रोल हालिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको र रिसोर्टका कर्मचारीहरूसँग सोधपुछ जारी रहेको बताए।
घाइतेहरूको अवस्था गम्भीर रहेको र स्वास्थ्य अवस्थामा सुधार आएपछि थप बयान लिने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।