विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा


विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
  • नवकिरण
  • अषाढ ७, २०८२

काठमाडौं, असार ७ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका व्यक्तिहरूलाई पुनः नेपाली नागरिकता दिन नसकिने स्पष्ट पारेका छन्।

शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले विदेशी भूमिमा बस्नुपर्ने बाध्यताले धेरै नेपाली नागरिकले अन्य देशको नागरिकता लिने अवस्था आएको भए पनि नेपालले पुनः उनीहरूलाई नागरिकता दिन नसक्ने बताएका हुन्।

‘ब्रिटिश गोरखा सैनिकहरूले नेपालको नागरिकता निरन्तरता दिनुपर्ने माग उठाउनु स्वभाविक हो। तर जब उनीहरूले अर्को देशको नागरिकता लिइसकेका छन् भने हामी नेपाली नागरिकता दिन सक्दैनौं,’ देउवाले भने, ‘अरु कामका लागि एनआरएन नागरिकता दिन सकिन्छ। हाम्रो जस्तो सानो देशमा धेरै जटिलता आउँछ।’

उनले नेपाली गोरखा सैनिकले बेलायती सेनाको जस्तै सुविधा पाउनुपर्ने माग गरिएको भए पनि बेलायती पक्षले त्यसलाई सहज रूपमा स्वीकार नगरेको उल्लेख गरे।

‘निरन्तर नागरिकताको माग स्वाभाविक हो। तर त्यो दिने नदिने कुरा नेपाल सरकारको मात्र हातमा हुँदैन। अन्तर्राष्ट्रिय कूटनीतिक सरोकार पनि जोडिएको हुन्छ,’ देउवाले भने।

उनले गोरखा सैनिकहरूको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै भने, ‘गोरखा फौज नेपाललाई विश्वमा चिनाउने माध्यम बनेको छ। नेपाल र बेलायतबीचको सम्बन्ध विस्तारमा गोरखा सैनिकको ठूलो योगदान रहेको छ।’

देउवाले नेपाली मूलका भए पनि विदेशी नागरिकता लिएका व्यक्तिलाई नेपाल फर्किन चाहेमा स्वागत गरिने बताए तर नागरिकताको विषयमा भने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे।