विवाहको ६ महिनापछि ‘कलकतिया बाली’की कलाकार अंशा सदा मृत अवस्थामा फेला


विवाहको ६ महिनापछि ‘कलकतिया बाली’की कलाकार अंशा सदा मृत अवस्थामा फेला
  • नवकिरण
  • अषाढ १०, २०८२

जनकपुरधाम, असार १० – मधेशमा लोकप्रिय युट्युब हाँस्य सिरियल ‘कलकतिया बाली’की कलाकार अंशा सदा मृत अवस्थामा फेला परेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित आफ्नै घरमा २१ वर्षीया अंशा सोमबार राति साढे ९ बजे झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार अंशाले सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक आशंका गरिएको छ।

प्रहरी टोली रातिदेखि नै घटनास्थलमा खटिएको छ। शवको मुचुल्का तयार पारिएको र पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

अंशा सदा ‘कलकतिया बाली’ सिरियलमा अभिनय गरिरहेकी थिइन्। सिरियलकै सेट नजिकैको घरमा उनी आफ्ना श्रीमान अविनाश झासँग बस्दै आएकी थिइन्। स्थानीय कलाकारका अनुसार घटना भएको बेलामा ढोका भित्रबाट बन्द गरिएको थियो।

छ महिनाअघि अंशाले सिरियलका मुख्य कलाकार अविनाश झासँग अन्तर्जातीय विवाह गरेकी थिइन्। अविनाश ब्राह्मण समुदायका हुन् भने अंशा दलित समुदायकी थिइन्। जातीय विभाजनका बाबजुद उनीहरूको विवाहले सामाजिक रूपमा प्रशंसा पाएको थियो।

अविनाश हाल जनकपुरधाममै रहेर ‘कलकतिया बाली’ सिरियल निर्माण कार्यमा संलग्न छन्। सिरियलकै क्रममा उनीहरूको प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।