काठमाडौं, असार ११ – विदेश रोजगारीका लागि पठाइदिन्छु भनी करोडौँ रूपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखा बैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौं तार्केश्वर नगरपालिकामा बसोबास गर्ने नविना दाहाल घिमिरे (३१) र सर्लाही कौडेना गाउँपालिका–४ का लछुमन शाह तेलीलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार घिमिरेले “युके पठाइदिन्छु” भन्दै पीडितहरूबाट ५२ लाख रूपैयाँ असुलेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। वैदेशिक रोजगार न्यायाधिकरण र काठमाडौं जिल्ला अदालत दुवैले घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए।
यस्तै, शाह तेलीले तीन पीडितबाट कुल ६ लाख रूपैयाँ उठाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी आचार्यले बताए।