गोरखामा सात वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला


गोरखामा सात वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला
  • नवकिरण
  • अषाढ १४, २०८२

गोरखा, असार १४ – गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका–१ गैराथोकमा सात वर्षीया एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। संगीता बराम नामकी ती बालिका आफ्नै घरभित्र धुरीको डाँडामा नाम्लोको पाँशो लगाएर झुण्डिएको अवस्थामा शनिबार बिहान फेला परेकी हुन्।

बालिकाका १० वर्षीय दाइ सन्दीप बरामले बहिनी झुण्डिएको देखेपछि चिच्याउँदा छिमेकी कान्छा हजुरबुबाले तुरुन्त डोरी काटेर उद्धार प्रयास गरेका थिए। तर, त्यसबेलासम्म बालिकाको ज्यान गइसकेको गोरखा प्रहरीले जनाएको छ।

घटनापछि संगीताको शव पोस्टमार्टमका लागि प्रारम्भमा गोरखा सदरमुकाम लगिएको थियो। तर, घटनालाई शंकास्पद मान्दै थप परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

स्थानीय कनकामना आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत संगीता केही समय अघिसम्म साथीहरूसँग खेलिरहेकी थिइन्। त्यसपछि उनी अचानक झुण्डिएको अवस्थामा मृत भेटिएको भन्दै स्थानीयबासीले घटना रहस्यमय रहेको प्रतिक्रिया दिएका छन्।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।