काठमाडौं, असार १४ – प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्स नामक कम्पनीले भिजिट भिसाको नाममा हजारौं नेपाली नागरिकबाट अर्बौं रुपैयाँ असुलेको गम्भीर आरोप लगाएका छन्।
शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले सो ट्राभल्स कम्पनीले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको व्यवस्था गरिदिने भन्दै ठूलो संख्यामा नेपालीलाई पठाएको र त्यस क्रममा ठगी भएको बताए।
उनले भने, “सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिइएको छ। संसदमा प्रतिनिधित्व गर्ने, पार्टी किनेर भित्रिने र भिजिट भिसाको नाममा बद्मासी गर्ने काम भएको छ।”
सांसद खतिवडाले ठगीमा संलग्नलाई संसदसम्म पुर्याउने कार्यप्रति पनि आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति इङ्गित गर्दै भने, “त्यसरी बद्मासी गर्नेहरू नै अहिले संसदमा आएर उफ्रिरहेको छन्।”
उनले यसबारे निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिए।
सांसद खतिवडाको भनाइपछि सभामा अन्य सांसदहरूको ध्यान पनि उक्त विषयतर्फ तानिएको छ। सरकारले यस विषयमा के कदम चाल्ने हो भन्ने प्रतिक्षा गरिएको छ।