निजामती सेवा विधेयकमाथि षड्यन्त्र: सभापतिदेखि सबैमाथि छानबिनको माओवादी केन्द्रको माग


निजामती सेवा विधेयकमाथि षड्यन्त्र: सभापतिदेखि सबैमाथि छानबिनको माओवादी केन्द्रको माग
  • नवकिरण
  • अषाढ १८, २०८२

काठमाडौं, असार १८ -प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवा विधेयकमाथि भएको कथित षड्यन्त्रमा संलग्न सबै व्यक्तिमाथि गम्भीर छानबिन र कडा कारबाहीको माग गरेको छ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सम्बन्धित सबै व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने माग राखेका हुन्।

“सानोतिनो षड्यन्त्र भएको होइन, संसद्लाई बदनाम पार्ने गरी गम्भीर षड्यन्त्र गरिएको छ,” सांसद पाण्डेले बैठकमा भने, “यो विषयलाई सामान्य रूपमा छोड्न मिल्दैन। उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरेर दोषीमाथि कारबाही गर्नुपर्छ।”

उनले विधेयक तयार पार्ने क्रममा नै पटक–पटक अड्चन आइरहेको र पछिल्लो घटनाक्रमले सुनियोजित षड्यन्त्रको पुष्टि गरेको जिकिर गरे।

माओवादी केन्द्रले यो विषयमा सरकार र संसद्ले गम्भीरता देखाउनुपर्ने भन्दै संसद्को गरिमा जोगाउन दोषीलाई कानूनी दायरामा ल्याउन जोड दिएको छ।