काठमाडौं, असार १९ – नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै आफूलाई स्पष्टीकरण सोधिएको भन्ने खबरहरूमा कुनै सत्यता नरहेको बताएकी छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूलाई अहिलेसम्म कुनै आधिकारिक रूपमा स्पष्टीकरण मागिएको नरहेको स्पष्ट गरिन्।
“केही शक्तिशाली पदाधिकारीहरूले मिडियामार्फत मलाई स्पष्टीकरण सोधिएको जस्तो प्रस्तुत गर्नुभएको छ। तर, मलाई अहिलेसम्म पार्टीले औपचारिक रूपमा केही पनि सोधेको छैन,” उनले भनिन्।
झाँक्रीले बुटवलमा आयोजित पार्टी सम्बद्ध युवा संगठनको प्रशिक्षण कार्यक्रममा “मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं” भन्ने अभिव्यक्ति दिएकी थिइन्। सो अभिव्यक्ति सार्वजनिक भएपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी बोल्न नहुने भन्दै ध्यानाकर्षण गराएका थिए।
“मैले बोलेको अभिव्यक्तिबारे धेरै प्रकारका भ्रमहरू सिर्जना भएका छन्। पार्टीलाई कुनै क्षति नहोस् भन्ने उद्देश्यले म सचिवालय बैठकमै उपस्थित भएर स्पष्टिकरण दिन तयार छु भन्ने निवेदन लिएर आएकी हुँ,” झाँक्रीले भनिन्।
उनका अनुसार पार्टीले १५ गते कुनै प्रतिक्रिया नदिन निर्देशन दिएको थियो। त्यसपछि कतिपय पदाधिकारीहरूले निर्देशनको आडमा आफूविरुद्ध आरोप लगाउन थालेको उनले आरोप लगाइन्।
“पार्टीभित्र यसरी अनावश्यक रूपमा तनाव सिर्जना नगरौं भन्ने मेरो प्रयास हो। यदि मैले बोलेका कुरा गलत हो भने म त्यसबारे जवाफ दिन तयार छु,” झाँक्रीले भनिन्।
झाँक्रीको भनाइअनुसार उनले आफ्नो तहको बैठक नभए पनि सचिवालय बैठकमै उपस्थित भई सबै भ्रमबारे स्पष्टीकरण दिन इच्छुक रहेको जनाएकी छन्।