गोरखा, असार २० – गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका चन्द्रबहादुर गुरुङको दुबईमा निधन भएको छ। वैदेशिक रोजगारीका लागि तीन वर्षअघि दुबई गएका ४४ वर्षीय गुरुङको केही दिनअघि अचानक बाटोमा लडेर मृत्यु भएको खबर आएको छ।
स्थानीय बुद्ध गुरुङका अनुसार, हृदयघातका कारण बाटोमा हिँड्दाहिँड्दै ढलेर चन्द्रको मृत्यु भएको हो। उनको शव बिहीबार राति साढे ११ बजे काठमाडौं आइपुग्ने जानकारी छ। सिर्दिबास–काठमाडौं सम्पर्क समितिका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्न तयारीमा छन्।
नेपाल सरकारले शव गोरखाको सोतीसम्म एम्बुलेन्समा ल्याइदिने व्यवस्था गरेको छ। मृतककी छोरी अहिले सोतीमै पुगेर शवको पर्खाइमा बसेकी छन्।
बुद्ध गुरुङका अनुसार, चन्द्र पछिल्लो केही समयदेखि गम्भीर मानसिक तनावमा थिए। काम गरेको कम्पनीमा भिसा सकिएको, राहदानीको म्यादसमेत समाप्त भएको, साथै श्रम स्वीकृति पनि नवीकरण नभएको कारणले उनी दुबईमै अलमलिएका थिए।
नेपाल फर्कन दुई पटक प्रयास गरे पनि सफल नभएपछि उनी गहिरो निराशामा थिए। पैसाको अभाव, खान बस्नको समस्या र भविष्यको अन्योलले उनलाई निकै थिचेको अनुमान गरिएको छ। यही कारणले स्वास्थ्यमा असर पुग्दै अन्ततः ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ।
उनको निधनको खबर परिवारले एक सातापछि मात्रै पाएको थियो। घरमा श्रीमती, एक छोरा र एक छोरी छन्। शव नेपाल आइपुगेपछि परिवारजनले अन्तिम संस्कारको तयारी गर्ने जनाइएको छ।