सुकुम्वासी सङ्घको काठमाडौं केन्द्रित निर्णायक आन्दोलनको तयारी


सुकुम्वासी सङ्घको काठमाडौं केन्द्रित निर्णायक आन्दोलनको तयारी
  • नवकिरण
  • अषाढ २१, २०८२

काठमाडौँ, असार २१ – सुकुम्वासी बस्तीमा शुद्ध खानेपानी, निःशुल्क बिजुली र लालपुर्जाको माग गर्दै आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घले काठमाडौं केन्द्रित निर्णायक आन्दोलनको तयारी थालेको छ।

सङ्घका केन्द्रीय अध्यक्ष कालबहादुर विक, उपाध्यक्ष अमर लिम्बु, महासचिव एमडी सतारसहितको टोलीले बल्खुलगायतका काठमाडौंस्थित सुकुम्वासी बस्तीहरूमा पुगेर स्थानीयवासीहरूसँग अन्तरक्रिया गरेका छन्। अन्तरक्रियामा सहभागी बस्तीबासीहरूले लामो समयदेखि आधारभूत सेवाबाट वञ्चित रहँदै आएको गुनासो गर्दै समस्या समाधानका लागि अब आन्दोलन बाहेक विकल्प नरहेको बताएका छन्।

बस्तीबासी अमर बर्देवा, गम्भीर मोक्तान, सुनिता परियारलगायतले सरकारले खानेपानी, बिजुली र लालपुर्जाको मागमा बेवास्ता गर्दै आएको आरोप लगाए। सरकार दायित्वबाट पछि हटेको भन्दै उनीहरूले काठमाडौंमै निर्णायक आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

सङ्घले यसअघि नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा ध्यानाकर्षणपत्र बुझाइसकेको र पत्रकार सम्मेलनमार्फत आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराइसकेको जानकारी अध्यक्ष विकले दिए। तर, संघीय सरकार र काठमाडौं महानगरपालिकाले न्यायोचित माग सुनुवाइ नगरेको भन्दै अब आन्दोलनलाई तीव्र बनाइने सङ्घले जनाएको छ।

अध्यक्ष विकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुकुम्वासीका समस्यालाई सम्बोधन गर्न ढिलाइ गरिरहेकाले आन्दोलन अब निर्णायक चरणमा प्रवेश गर्ने बताएका छन्।