राजनीति सुधार बिना देशको कायापलट सम्भव छैन : सांसद सोबिता गौतम


राजनीति सुधार बिना देशको कायापलट सम्भव छैन : सांसद सोबिता गौतम
  • नवकिरण
  • अषाढ २१, २०८२

चितवन, असार २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले देशको समग्र रूपान्तरणका लागि सर्वप्रथम राजनीति सुधार आवश्यक रहेको बताएकी छिन्।

शनिबार चितवनमा आयोजित एक सभामा बोल्दै सांसद गौतमले वर्तमान राजनीतिक परिवेशलाई जनताको आशा र विश्वास अनुरूप रूपान्तरण गर्न जनताको सक्रिय भूमिका अपरिहार्य भएको धारणा राखिन्।

रास्वपाका सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दाविरुद्ध देशव्यापी रूपमा चलिरहेको हस्ताक्षर अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, “देशमा परिवर्तन ल्याउन चाहने हो भने राजनीति सुधार नै पहिलो सर्त हो। राजनीति सफा गर्ने एक मात्र शक्ति जनतामा निहित छ।”

उनले अगामी निर्वाचनमा प्रत्येक मतदाताको मतले मुलुकको दिशा निर्धारण गर्ने बताउँदै नागरिकलाई सचेत र ऊर्जाशील बन्न आह्वान गरिन्। “देश बनाउने जिम्मा नेताहरूको मात्रै होइन, नागरिकहरूको पनि उत्तिकै हो,” उनले भनिन्।

सांसद गौतमले नेपाली जनताले पटक–पटक गलत प्रतिनिधिलाई जिताएर अहिलेको अवस्था सिर्जना गरेको उल्लेख गर्दै अब सही व्यक्तिहरूलाई चुन्नु पर्ने आवश्यकता औंल्याइन्।

सभामा उनले रवि लामिछानेविरुद्धको मुद्दालाई राज्यसत्ताबाट प्रेरित राजनीतिक प्रतिशोधको संज्ञा दिँदै भनिन्, “नयाँ राजनीतिक शक्ति उदाउँदै गर्दा पुरानो सत्तावृत्त त्रसित बनेको छ। त्यसैले रविजीमाथि झुटा मुद्दा लगाएर कारवाही गरिँदैछ।”

उनले लामिछानेलाई जेल हाल्नका लागि राज्य संयन्त्र दुरुपयोग गरिएको आरोप पनि लगाइन्। “एक व्यक्तिलाई राजनीतिक रूपमा हराउन यति ठूलो संयन्त्र चलाउनु पर्‍यो भने त्यो सरकारको नैतिकतामाथि प्रश्न उठ्छ,” गौतमले टिप्पणी गरिन्।

उनले ऐतिहासिक रुपमा नेपाली जनताले व्यवस्था परिवर्तनका लागि उठेका आन्दोलनहरूको चर्चा गर्दै अहिले फेरि बोल्ने अधिकारमाथि प्रहार भइरहेको बताइन्।

गौतमले हस्ताक्षर अभियानलाई केवल पार्टीको मुद्दा नभइ सम्पूर्ण नेपाली जनताको आवाजको रूपमा प्रस्तुत गर्दै अभियान अझै तीन महिना सम्म सञ्चालन हुने जानकारी दिइन्।

सभामा उल्लेख्य संख्यामा नागरिकको सहभागिता देखिएको बताउँदै उनले राष्ट्रिय रूपमै जनजागरण फैलिन थालेको पनि उल्लेख गरिन्।