हुम्ला जोड्ने ऐतिहासिक पुल आज उद्घाटन हुँदै, प्रधानमन्त्री ओलीको उत्साह


हुम्ला जोड्ने ऐतिहासिक पुल आज उद्घाटन हुँदै, प्रधानमन्त्री ओलीको उत्साह
  • नवकिरण
  • अषाढ २२, २०८२

काठमाडौं, असार २२ – प्रधानमन्त्री केपी शर्मा ओली आज कर्णाली करिडोर अन्तर्गतको च्वाखोला बेलिब्रिज उद्घाटन गर्न हुम्ला जाँदै छन्।

खार्पुनाथ गाउँपालिका–५ मा निर्माण गरिएको उक्त बेलिब्रिजको उद्घाटनपछि हुम्ला जिल्ला पहिलोपटक औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ।

प्रधानमन्त्री ओलीले उद्घाटनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत आफू उत्साहित रहेको जनाउँदै एक युवाले एआईमार्फत तयार पारेको भिडियो क्लिप सेयर गरेका छन्। उनले लेखेका छन्, “आजबाट सञ्चालनमा आउने कर्णाली करिडोरको च्वाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनलाई सडकमार्गले जोड्नेछ।”

बाँकेको जमुनिया नाकादेखि हुम्लाको हिल्सा नाकासम्म फैलिएको ४१० किलोमिटर लामो यो करिडोरले कर्णाली प्रदेशलाई भारत र चीनसँग जोड्ने विश्वास गरिएको छ। यसले कर्णालीको विकास, यातायात सुविधा र वैदेशिक व्यापारमा महत्वपूर्ण टेवा पुर्‍याउने प्रधानमन्त्रीको भनाइ छ।

करिब २६ वर्षदेखि निर्माणाधीन कर्णाली करिडोरले पूर्णता नपाएपनि च्वाखोला पुलको उद्घाटनसँगै यो मार्ग प्रयोगमा आउनेछ। हुम्ला हालसम्ममात्र राष्ट्रिय सडक सञ्जालबाट छुटिएको जिल्ला थियो, जुन अब यस पुलमार्फत जोडिन लागेको हो।