काठमाडौं, असार २६ – दक्षिण कोरियाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै थप दुई नेपाली नागरिकलाई देशबाट निष्कासन गरेको छ। निष्कासित हुनेमा सुलभ राई र निर्मल कुमार पाण्डे रहेका छन्।
स्रोतका अनुसार, राईलाई थाइ एयरको उडानमार्फत र पाण्डेलाई कोरियन एयरलाइन्समार्फत गत साता काठमाडौं फर्काइएको हो। दुवैजनामाथि कोरियामा अवैधानिक बसोबास गरेको आरोप लागेको बताइएको छ।
कोरियाले पछिल्लो समय अध्यागमन नियम कडा बनाउँदै गैरकानुनी रूपमा बस्ने विदेशी नागरिकहरूमाथि निगरानी तीव्र पारेको छ। केही समयअघि मात्र जेठको पहिलो साता १० जना नेपालीलाई एकैपटक निष्कासन गरिएको थियो।
दक्षिण कोरियामा कामको सिलसिलामा गएका नेपालीहरूलाई कानुनी प्रक्रिया पालना गर्न सम्बन्धित निकायहरूले पुनः सचेत गराएका छन्।