काठमाडौं, असार २७ – पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक ‘श्री ५ महाराजधिराज’ भन्ने सम्बोधनको कारण प्रहरी निगरानीमा परेका छन्। उनले सार्वजनिक रूपमा पूर्वराजाका नाममा जारी गर्ने विज्ञप्तिहरूमा सो सम्बोधन प्रयोग गर्न थालेपछि प्रहरी सक्रिय बनेको हो।
पाठक शुक्रबार काठमाडौंको जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। प्रहरी प्रमुख विश्वराज अधिकारीका अनुसार, पाठकले संविधानले मान्यता नदिएको पद र उपाधि प्रयोग गर्दै आएका कारण जनगुनासो आएको र त्यसबारे बुझ्नका लागि उनलाई बोलाइएको हो।
अधिकारीले भने, “अब जसलाई जे मन लाग्यो त्यही लेखेर प्रचार गर्न पाइँदैन। सार्वजनिक दस्तावेज र सूचनामा प्रयोग हुने भाषा संविधानसम्मत हुनुपर्छ।”
पाठकले असार १३ गते सार्वजनिक गरेको एक प्रेस विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७९औं जन्मोत्सव’ मनाउने भनिएको थियो। यसअघि पनि उनका विज्ञप्तिहरूमा यस्तै सम्बोधन प्रयोग भएको देखिएको छ।
घटनापछि राप्रपा नेपाल अध्यक्ष कमल थापाले कडा प्रतिक्रिया जनाएका छन्। उनले भने, “पूर्वराजालाई ‘श्री ५’ लेखेको भनेर सोधपुछ गर्नु सरकारको संकुचित मानसिकताको प्रमाण हो। प्राविधिक रूपमा राजतन्त्र नरहे पनि ज्ञानेन्द्र शाह पछिका अरू कोही राजा छैनन्, त्यसैले यस्तो सम्बोधन गर्नु अस्वाभाविक होइन।”
प्रहरीले पाठकसँग संवाद सचिवालयको औपचारिक स्थिति र वैधानिकताबारे पनि सोधपुछ गरिरहेको छ।