माधवकुमार नेपालको चुनौतीपूर्ण अभिव्यक्ति : “मुद्दाका आधारमा पार्टीले हटाए स्वीकार्छु”


माधवकुमार नेपालको चुनौतीपूर्ण अभिव्यक्ति : “मुद्दाका आधारमा पार्टीले हटाए स्वीकार्छु”
  • नवकिरण
  • अषाढ २७, २०८२

काठमाडौं, असार २७ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको मुद्दालाई लिएर कुनै डर नभएको स्पष्ट पारेका छन्। उनले यदि पार्टीले सोही मुद्दाका आधारमा आफूलाई पदबाट हटाउने निर्णय गर्‍यो भने त्यसलाई स्वीकार गर्न तयार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित अनेरास्ववियूको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी बनाउने आँट आफूसँग रहेको र विभिन्न चुनौतीहरूको सामना गर्दै अघि बढिरहेको बताए।

“मैले जीवनभर एक पैसा घुस खाएको छैन,” भन्दै उनले आफूविरुद्ध लगाइएको मुद्दा प्रतिशोधका आधारमा भएको दाबी गरे। नेपालको संविधानले नीतिगत निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्न नपाउने व्यवस्था गरेको स्मरण गराउँदै उनले अहिलेको छानबिनलाई संविधान विपरीतको भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रतिशोधको राजनीति गर्नेहरू आफैले खनेको खाल्डोमा पर्ने चेतावनीसमेत दिए। “ममाथि बदला लिन खोज्नेहरू आफैँ त्यसको सिकार बन्न सक्छन्,” उनले भने।

उनको यो अभिव्यक्तिलाई पार्टीभित्रको आन्तरिक दबाब र बाह्य अनुसन्धानको पृष्ठभूमिमा आएको कडा प्रतिक्रिया रूपमा हेरिएको छ।