काठमाडौं, साउन ६ – लगातारको अविरल वर्षापछि देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने ढुवानी सेवा समेत प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै पूर्वदेखि पश्चिमसम्मका मुख्य सडकहरू प्रभावित भएको जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक खण्ड बन्द भएका छन्। संखुवासभामा लगातारको वर्षाका कारण कोशी राजमार्गमा समस्या देखिएको छ भने पाँचथरमा बाढीले मेची राजमार्ग र तमोर–कोरिडोर सडक पूर्णरूपमा बन्द भएका छन्।
रसुवामा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन ठप्प छ। त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण जाजरकोट–डोल्पा भेरी करिडोर सडक पनि अवरुद्ध भएको छ।
काठमाडौं उपत्यकामा समेत असर देखिएको छ। टोखा क्षेत्रमा वर्षाले गर्दा काठमाडौँ–नुवाकोट सडकखण्डमा सवारी एकतर्फी मात्र सञ्चालनमा आएको छ। गण्डकी प्रदेशको बागलुङ र नवलपुरमा पहिरो तथा बाढीका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ भने रोल्पाको शहीद राजमार्ग पनि एकतर्फी चलिरहेको छ।
राजमार्ग अवरुद्ध भएपछि विभिन्न गन्तव्यमा जाँदै गरेका यात्रुहरू बाटोमै रोकिएका छन्। साथै, वस्तु ढुवानीमा समेत कठिनाइ भएको छ।
नेपाल प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सडकको अवस्था बारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। यसबीच बाढी, पहिरो प्रभावित क्षेत्रहरूमा उद्धार तथा सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।