मधेसमा अब कोही पनि पानीको अभावमा पर्ने छैनन् : प्रधानमन्त्री ओली


मधेसमा अब कोही पनि पानीको अभावमा पर्ने छैनन् : प्रधानमन्त्री ओली
  • नवकिरण
  • श्रावण ७, २०८२

काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस क्षेत्रका नागरिकहरूलाई अब खानेपानीको अभावमा अलपत्र पर्ने अवस्था नआउने स्पष्ट पारेका छन्।

बुधबार संसदमा आयोजित प्रश्नोत्तर सत्रमा सहभागी हुँदै उनले सरकार खानेपानीको पहुँचबाट कोही पनि वञ्चित नहोस् भन्ने सुनिश्चितताप्रति प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री ओलीका अनुसार, मधेस प्रदेशलाई औपचारिक रूपमा सुख्खा क्षेत्र घोषणा गरिएको छ। उनले भने, “आजमात्रै बसेको मन्त्रिपरिषद्को बैठकले मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ, जसले बजेटको व्यवस्थापन, खरिद प्रक्रिया र अन्य आवश्यक पहलमा सहजता ल्याउनेछ।”

प्रधानमन्त्रीले देशका कुनै पनि नागरिक खानेपानीजस्तो आधारभूत सुविधाबाट बञ्चित हुनु नहुने बताउँदै राज्यको जिम्मेवारी अन्तर्गत मधेसमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन हुने स्पष्ट पारे।

उनले थपे, “सरकारले सबैको पहुँचमा खानेपानी पुर्‍याउने योजना बनाएको छ र कार्यान्वयनका लागि सक्रिय पहल भइरहेको छ।”

यो घोषणालाई मधेसमा लामो समयदेखि रहेको खानेपानी अभावको समस्या समाधानतर्फ सरकारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।