कुलमान घिसिङलाई सहकार्यको प्रस्ताव : महतो नेतृत्वको पार्टीको आग्रह


कुलमान घिसिङलाई सहकार्यको प्रस्ताव : महतो नेतृत्वको पार्टीको आग्रह
  • नवकिरण
  • श्रावण १०, २०८२

काठमाडौँ, साउन १० – नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङलाई राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले सहकार्यको प्रस्ताव गरेको छ।

हाल अमेरिका भ्रमणमा रहेका घिसिङ ‘उज्यालो नेपाल अभियान’ सुरु गर्ने तयारीमा छन्। सो अभियानलाई समर्थन गर्ने उद्देश्यसहित पार्टीले उनलाई पार्टीमा प्रवेश गर्न वा अभियानमा संयुक्त रूपमा सहकार्य गर्न आग्रह गरेको हो।

पार्टीका वरिष्ठ नेता सन्तोष मेहताका अनुसार अध्यक्ष महतो स्वयंले दुईपटक प्रतिनिधिमण्डल पठाई घिसिङसँग संवाद गराएका थिए। पहिलोपटक असार ६ गते बुद्धि छिरिङको नेतृत्वमा टोलीले भेटघाट गरेको थियो भने दोस्रोपटक असार ८ गते फेरि अर्को समूहले भेट गरेको हो।

नेता मेहताले भने, “हामीले घिसिङजीलाई पार्टीमा आबद्ध हुन प्रस्ताव गरेका छौं। यदि पार्टीमा आउनुभएन भने पनि उहाँले अघि बढाउन लाग्नुभएको ‘उज्यालो नेपाल अभियान’मा हाम्रो पूर्ण समर्थन रहनेछ। हाम्रो अभियानमा पनि उहाँको साथ रहने अपेक्षा गरिएको छ।”

हालको अवस्थामा औपचारिक निर्णय भइनसकेको र घिसिङ अमेरिका फर्केपछि मात्र सहकार्यको स्पष्ट रूपरेखा तय हुने मेहताले जानकारी दिए। राष्ट्रिय मुक्ति पार्टीले आगामी दिनमा जनअपेक्षा पूरा गर्न सक्ने नेतृत्वको खोजी गरिरहँदा, घिसिङजस्ता लोकप्रिय व्यक्तित्वसँग सहकार्यको प्रयासमा देखिएको छ।