जनकपुरधाम, साउन ११ – पानीको संकट, मलबिउ अभाव र चुरे दोहनजस्ता विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघले जनकपुरधाममा प्रदर्शन गरेको छ।
जनक चोकबाट सुरु भएको विरोध र्यालीले विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसम्म पुगेर ज्ञापनपत्र बुझाएको छ। “भ्रष्ट सरकार पानी दे”, “किसान मार्न पाइँदैन”, “चुरे दोहन बन्द गर”, “किसान विरोधी सरकार होसियार” भन्ने नारासहित उनीहरूले सरकारको आलोचना गरेका थिए।
प्रदर्शनपछि संघीय सरकारका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि अर्चायमार्फत ४ बुँदे ज्ञापनपत्र बुझाइएको थियो। जसमा भूमि विधेयक खारेज वा संशोधन गर्न, मल र बिउको तत्काल व्यवस्था गर्न, सुक्खाग्रस्त क्षेत्रलाई बचाउने दीर्घकालीन पानी योजना ल्याउन र कृषि केन्द्रित कार्यक्रम अघि बढाउन माग गरिएको छ।
त्यसैगरी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाइएको ८ बुँदे ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्न, मल खाद्यको पर्याप्त व्यवस्था गर्न र चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले दुईवटा रेडबुक बनाएको भन्ने विषयमा छानबिन गर्नुपर्ने माग गरिएको छ।
समाजवादी युवा संघले प्रदेश र संघीय दुवै सरकार जनताको बुनियादी समस्या बुझ्न असफल भएको आरोप लगाउँदै यस्ता आन्दोलनहरू थप चर्कने चेतावनीसमेत दिएको छ।