बैतडीमा पहिरो नहटाइएपछि स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी


बैतडीमा पहिरो नहटाइएपछि स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी
  • नवकिरण
  • श्रावण १३, २०८२

बैतडी, साउन १३ – लगातारको वर्षापछि अवरुद्ध भएको सडक मर्मतको पहल नहुँदा बैतडीको पुर्चौंडी नगरपालिका–१० का स्थानीयवासी आक्रोशित बनेका छन्।

विजयपुर–दोगडाकेदार–सदरमुकाम जोड्ने प्रमुख सडकखण्डमा पहिरो नहटाइएको भन्दै स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

स्थानीय बासिन्दा अम्मर महराका अनुसार, भङाड बस्तीमा खसेको पहिरोले कम्तीमा ६ घर उच्च जोखिममा छन्। तर, १३ दिनसम्म पनि पहिरो हटाउने कुनै पहल नभएपछि स्थानीयहरू आफैं कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका हुन्।

यसबीच, वडा अध्यक्ष हिक्मतबहादुर बिष्टले सडक सफा गर्न प्रयोग हुने मेसिन बिग्रिएको कारण काममा ढिलाइ भएको स्पष्ट पारेका छन्।

स्थानीयहरूले जोखिममा रहेका घरहरूमा तत्काल राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन पनि माग गरेका छन्। पहिरो हटाउन ढिलाइ हुँदा नागरिकको जनधन जोखिममा परेको भन्दै आक्रोश चुलिँदै गएको छ।